भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
शनिबार बेलुका बैतडीको उदयदेव–२ कफाडीका हीरा चन्दकी ४ वर्षे छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ । तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सुरक्षा समितिको आकस्मिक बैठकले नरभक्षी चितुवालाई मार्न प्रहरी टोली खटाइने समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो । यसका साथै पीडित परिवारलाई राहत वितरण, सचेतनामूलक कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।
चितुवा मार्न तत्काल हतियारसहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो ।
चितुवा मार्न थप सुरक्षाकर्मी परिचालनका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलसँग पनि सहयोग मागिएको प्रहरी नायव उपरीक्षक राणाले बताउनुभयो ।
चितुवाले शनिबार बेलुका ४ वर्षे अञ्जली चन्दलाई घरकै आँगनबाट टिपेर जंगल पसेको थियो । अञ्जलीको आइतबार बिहान टाउको र शरीर छुटिएको अवस्थामा आठ सय मिटर टाढाको रत्याल खोलामा शव फेला परेको थियो ।
तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । विसं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment